मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता : गण्डकी, बागमती र पुलिसको सुखद सुरुवात

धनगढी, ८ चैत– कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब, गण्डकी र बागमती प्रदेशले सुखद सुरुवात गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार भएका खेलमा विजयी हुँदै तीन वटै टोलीले सुखद सुरुवात गरेका हुन् ।

मंगलबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३-० को सोझो सेटले पराजित गर्‍यो । पुलिसले २५-१८, २५-१० र २५-१८ को सेटले प्रदेश नम्बर १ लाई पराजित गरेको हो । खेलका म्यान अफ द म्याच नेपाल पुलिस क्लबका रविन चन्द भए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मंगलबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई ३-१ को सेटले पराजित गरेको छ । गण्डकीले २५-२० र २५-१८ ले पहिलो र दोस्रो सेट जितेकोमा तेस्रो सेट १९-२५ ले गुमाएको थियो । तर २५-२३ ले चौथो सेट जित्दै गण्डकीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । खेलका म्याद अफ द म्याच गण्डकीका घनश्याम चौधरी भए ।

मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३-१ को सेटले पराजित गरेको छ । बागमतीले पहिलो सेट २५-१६ ले जितेकोमा दोस्रो सेट भने २३-२५ ले गुमाएको थियो। त्यसपछिका दुई सेट २५-२१ र २५-१६ ले बागमती प्रदेशले जितेको हो । खेलका म्यान अफ द म्याच बागमती प्रदेशका नविन महतो भए । बागमतीसंग पराजित भएसंगै मधेश प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनीबाहेक ६ वटा प्रदेश र तीन वटा विभागीय गरी ९ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगिताअन्तर्गत बुधबार तीन खेल हुनेछन्।

Loading...