सुदूरपश्चिम स्पोर्टस अवार्डको तेस्रो संस्करण चैत २५ गते हुने

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धकमा

धनगढी, ६ चैत– सुदूरपश्चिम स्पोर्टस अवार्डको तेस्रो संस्करण चैत २५ गते हुने भएको छ । आइतबार नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करणबारे जानकारी दिएको हो ।

अवार्डको तेस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए। ‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरूमा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्दै आएको छ,’ उनले भने, ‘तेस्रो संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौं ।’

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने अवार्डका संयोजक तथा खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताए । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले बताए ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष हरि जोशीले बताए। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्
‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् पनि जोडिएको छ । अवार्डको मुख्य प्रवद्र्धकको रुपमा खेलकुद परिषद् जोडिएको मञ्चका अध्यक्ष ओझाले बताए ।

अध्यक्ष ओझा र प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहबीच सम्झौता भएको छ । सदस्य सचिव सिंहले सरकारी स्तरबाट हुनुपर्ने कार्यक्रम खेलकुद पत्रकार मञ्चले गरेर यहाँका खेलाडी र प्रशिक्षकको मनोवल बढाउने काम गरेको बताए । ‘तीन वर्षदेखि आयोजना भइरहेको अवार्डले खेलाडी र प्रशिक्षकको मनोवल बढाएको छ,’ सिंहले भने, ‘अवार्डमा जोडिन पाउँदा हामी पनि खुसी छौं ।’

Loading...