स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण





कञ्चनपुर, ४ चैत– स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार १ हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ ।



मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । ‘निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ’, कार्यालय प्रमुख जोशीले भने, ‘कर्मचारीको विवरण सङ्कलन पश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइने छ ।’


एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उनले बताए । तीन सय ४० मतदान केन्द्रमा एक हजार ३६० कर्मचारीलाई खटाइने छ । अन्तिम नामावली प्रकाशनका लागि केन्द्रमा नामावली पठाइएको छ । थप मतदाता १९ हजार ८०० गरी यहाँ मतदाताको सङ्ख्या २ लाख ९७ हजार ३४१ रहेको छ ।
निर्वाचन कार्यालयले मृत्यु भएका, बसाइँ सरेर गएका १ हजार १०० मतदाता नामावलीबाट नाम हटाइएको छ । स्थानिय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले मङ्सिरयता दुई पटक नामावली सङ्कलनको कार्य गरेको थियो ।



