सुदूरपश्चिम प्रदेशमा विपद् व्यवस्थापनको तयारी कमजोर, स्थानीय तहहरुमा १८ मात्रै दमकल





धनगढी, ३ चैत- सुदूरपश्चिम प्रदेशमा विपद् व्यवस्थापनको तयारी कमजोर देखिएको छ । सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेको प्रदेशमा जम्मा १८ वटा स्थानीय तहमा मात्रै दमकल रहेका छन् । सञ्चालनमा रहेका दमकल पनि सुगम क्षेत्रमा मात्र उपलब्ध छन् ।


आगो निभाउन प्रयोग हुने दमकल दुरदराजका स्थानीयतहसँग नहुँदा जुनसुकै समयमा पनि ठूलो विपद्को सामना गर्नुपर्ने अवस्था आउन सक्ने सरोकारवाला बताउँछन् । विपद् व्यवस्थापनमा प्रदेशसँगै स्थानीय तहहरु पनि चुक्दै गएको नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले बताए । घनाबस्ती भएको सहरी क्षेत्रमा दमकल सञ्चालनमा देखिएपनि दुरदराज अर्थात पहाडी जिल्लाका अधिकांश पालिकाहरुले दमकल सेवा सञ्चालन गर्न सकेका छैनन् ।



विपदमा संघ, प्रदेश र स्थानीयतहको भूमिका अझै प्रभावकारी बन्न नसकेको उनले बताए । सुदूरपश्चिम प्रदेशमा बर्सेनी आगलागीका घटनामा वृद्धि भइरहे पनि नियन्त्रणका लागि प्रभावकारी योजना र तयारी छैन । प्रदेश र स्थानीय तहले अनावश्यक रुपमा राज्य कोषबाट सवारी खरिद गर्ने होडबाजी चलाइरहेका बेला विपद् व्यवस्थापनका लागि नभई नहुने दमकल सेवा सञ्चालनमा भने चुक्दै आएका छन् । धनगढीमा दुईवटा दमकल छन् । सबैभन्दा बढी ६ वटा दमकल कैलालीमा छन् । गोदावरी, घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरपालिकामा १/१ वटा दमकल छन् ।
त्यस्तै भीमदत्त, शुक्लाफाँटा, दोधारा चाँदनी र पुनर्वास नगरपालिकामा १/१ वटा दमकल छन् । बेदकोट, बेलौरी, कृष्णपुर र महाकाली नगरपालिकासँग एउटा पनि दमकल छैन । डडेल्धुरा र बैतडी जिल्लामा २/२ वटा दमकल छन् ।
डोटी, दार्चुला, बझाङ र अछाम जिल्लामा १/१ वटा दमकल छन् । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् महाशाखाको तथ्यांक अनुसार प्रदेश भरी हाल १८ वटा मात्र दमकल रहेका छन् । हरेक पालिकाहरुमा दमकलका लागि बजेटको व्यवस्थापन गर्न छलफल हुँदै आएपनि चालु आर्थिक वर्षका लागि बजेट विनियोजन नभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताए ।
उनका अनुसार प्रदेशका हरेक पालिकामा दमकलका लागि विभिन्न चरणमा छलफल हुँदै आएपनि बजेट विनियोजन नहुँदा दमकल उपलब्ध गराउन सकिएको छैन । संविधानमा विपद् व्यवस्थापनलाई स्थानीय सरकारको एकल अधिकारसँग संघीय, प्रदेश र स्थानीय सरकारहरूको साझा अधिकारको सूचीमा समावेश गरिएको भएपनि प्रभावकारी काम हुन भने सकेको छैन ।



