नयाँ सहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने : मन्त्री झाक्री




धनगढी, २८ फागुन– संघीय सरकारकी सहरी विकास मन्त्री रामकुमारी झाक्री धनगढीमा पुगेकी छिन् । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताएकी हुन् ।


मन्त्री झाक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ सहर निर्माण हुन नसक्ने बताउँदै नयाँ सहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिइन् ।



‘पछिल्लो पटक ग्रामीण क्षेत्रबाट सहरमा बसाइँसराइ हुने क्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण सहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्दछ,’ उनले भनिन्, ‘ग्रामीण सहरीकरणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने सरकारको तयारी रहेको छ ।’
मन्त्री झाक्रीले सरकारले घोषणा गरेका नयाँ सहर निर्माणका लागि आवश्यक बजेटको अभाव हुँदा कामले गति लिन नसकेको उल्लेख गर्दै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिएकी थिइन् ।
प्राथमिकताका आधारमा आयोजना छनोट गर्नुपर्ने र असिमित आवश्यकतालाई सीमित साधन, स्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने मन्त्री झाक्रीले बताइन् । आयोजना स्वचालित ढङ्गले नभई आवश्यकता र प्राथमिकीकरणको आधारमा छनोट हुने प्रणालीको स्थापना गर्नु जरुरी रहेको समेत बताईन् ।