कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नतीको काम सुरु

कञ्चनपुर, २७ फागुन- कञ्चनपुरको मझगाउँ विमानस्थलको धावनमार्ग निर्माण सुरु भएपछि उक्त क्षेत्रमा चहलपहल बढ्नुका साथै स्तरोन्नतीको काम समेत सुरु भएको छ । लामो समयदेखि बन्द रहेको विमानस्थल सुचारु गर्ने उद्देश्यले स्तरोन्नति गरिन लागेको हो ।

पहिलो चरणमा निर्माण कम्पनीले धावनमार्ग निर्माणको काम सुरु गरेको छ । धावन मार्गसंँगै ट्याक्सी वे र एप्रोनलगायतको काम पनि सुचारु गरिने निर्माण कम्पनीले जनाएको छ । ‘अहिले रन वे निर्माणको काम सुरु भएको छ,’ विमानस्थल निर्माण कम्पनी कान्छाराम/केएस/उमा एन्ड कम्पनीका इन्जिनियर जितेन्द्र यादवले भने, ‘अहिले एक हजार मिटर रन वे खाली छ, बाँकी पनि खाली गर्ने प्रक्रिया अघि बढेको छ ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनका अनुसार विगतको रनवेमा अहिले काम चलिरहेको छ । अहिले विमानस्थलमा झारपात तथा माथिल्लो तहमा रहेको खुकुलो माटो हटाउने काम भइरहेको छ । त्यसपछि स्तरीय माटो भरान गरेर ग्राभेल हालिनेछ । विभिन्न तहमा ग्राभेल गरिसकेपछि धावनमार्ग कालोपत्रे गरिने निर्माण कम्पनीले जनाएको छ ।

विमानस्थलको दक्षिणतर्फ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँंगैको रत्न वाटिका र नेपाली सेनाको खेल मैदान रहेको स्थान खाली भएपछि थप ५ सय २५ मिटर रन वे निर्माण हुनेछ । अहिले खाली रहेको १ हजार मिटर तथा रत्न वाटिका रहेको ४ सय र सेनाको खेल मैदान रहेको २ सय मिटर गरी विमानस्थलको लम्बाइ १६ सय मिटर पुग्नेछ ।

विमानस्थल निर्माणका लागि स्थानीय तह, सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारले साझेदारी गरेका छन । तीन वर्षभित्र निर्माण कार्य सक्ने गरी ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको हो । जसमध्ये दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत र संघीय सरकारले ५० प्रतिशत बजेट उपलब्ध गराउनुपर्ने त्रिपक्षीय साझेदारी भएको छ । ‘साइड क्लियर भएमा र निर्माण सामग्रीको अभाव नभएमा हामीले डेढ वर्षभित्रै काम सक्ने लक्ष्य राखेका छौं,’ इन्जिनियर यादवले भने, ‘अहिले रत्न वाटिका र सेनाको खेल मैदानसंँगै विमानस्थल क्षेत्रमा रहेको रूखहरू खाली गराउने प्रक्रिया चलिरहेको छ ।’

२०३० देखि हवाई सेवा सुरु भएको यो विमानस्थल सशस्त्र द्वन्द्वका बेला २०५६ मा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।

Loading...