कञ्चनपुर र कैलालीमा जनता आवास कार्यक्रम अन्तर्गत ४ सय ३७ घर निर्माणाधीन

धनगढी, २२ फागुन– जनता आवास कार्यक्रम अन्तर्गत कञ्चनपुर र कैलालीमा ४३७ दुई कोठे घर निर्माणाधीन अवस्थामा रहेका छन् । न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि सरकारले १० करोड रकम विनियोजन गरेर घर निर्माण गर्न लागेको हो । गत आर्थिक वर्षदेखि उक्त ठाउँमा कार्यक्रम अन्तर्गत निर्माणको काम थालिए पनि कोरोना भाइरस संक्रमणका कारण काम प्रभावित हुन गएको थियो ।

Dadeldhura hospital

जनता आवास कार्यक्रम अन्तर्गत कञ्चनपुरमा २३७ र कैलालीमा २०० घर निर्माण भइरहेको शहरी विकास तथा भवन कार्यालय धनगढीका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए । चालू आर्थिक वर्षमा ९० प्रतिशत घर निर्माण गरिसक्ने लक्ष्य रहेको छ । अहिले घर निर्माणको प्राविधिक र अन्य रेखदेखको काम हामीले नै गरिरहेको प्रमुख देवकोटाले बताए । उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकामा ६६, कृष्णपुर नपामा ३३, पुनर्वास नपामा ३३, दोधारा-चाँदनी नगरपालिकामा ३९, बेलौरी नपामा ३३ र बेदकोट नपामा ३३ घर बनिरहेका छन् ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी कैलालीमा धनगढी उपमहानगरपालिकामा ४२, गोदावरी नपामा २८, गौरीगङ्गा नपामा ९, घोडाघोडीमा २३, बर्दगोरिया गाउँपालिकामा १४, लम्कीचुहा नगरपालिकामा २७, जानकी गाउँपालिकामा १५, भजनी नगरपालिकामा २१ र टीकापुर नगरपालिकामा २१ घर निर्माण भइरहेका छन् ।

प्रमुख देवकोटाका अनुसार उपभोक्ता र लाभग्राहीसित सम्झौता भएर घर बनिरहेको छ । घर बनाउन प्रतिपरिवार ३ लाख ३६ हजार रुपैया सरकारले दिएको बताए । उनका अनुसार प्रतिपरिवार र उपभोक्ता समितिले १० प्रतिशत श्रमदान गर्नुपर्ने प्रावधान रहेको छ । घर निर्माणका लागि कैलालीमा ५ करोड ५ लाख र कञ्चनपुरमा ५ करोड ७६ लाख रकम विनियोजन समेत गरिएको छ ।

Loading...