बझाङमा स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र, नामावली उपर दाबी विरोध गर्न आह्वान





बझाङ । जिल्ला निर्वाचन कार्यालय बझाङले बैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिएको छ । बझाङमा अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ । नामावली उपर दाबी विरोध गर्न आह्वान गरिएको हाे।



सरकारले तोकेकै मितिमा निर्वाचन गर्नका लागि आन्तरिक तयारी थालिएको कार्यालय प्रमुख विमलप्रसाद गौतमले जानकारी दिए । मतदाता परिचयपत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन दिन आह्वान गरिएको छ । साथै फागुन १९ गते मतदाता नामावली प्रकाशित गरिने छ । मतदाता नामावली प्रकाशन भएपछि मृत्यु भएका, बसाइँसराई गरेका नामउपर दाबी विरोधको समय फागुन २२ गतेसम्म राखिएको छ । फागुन २२ गतेसम्म दाबी विरोधको फारम निर्वाचन कार्यालयमा बुझाई सक्नुपर्नेछ ।


यसका साथै निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्न, निर्वाचन केन्द्र र संख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यको समेत तयारी थालेको छ । जिल्लामा स्थानीय तह निर्वाचनका लागि १ सय ३३ वटा मतदानस्थल तोकिएका छन् ।बझाङमा १ लाख २६ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।



