कञ्चनपुरको कृष्णपुरमा थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न





कञ्चनपुर, १५ फागुन- कञ्चनपुरको कृष्णपुरमा थारु राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको छ । थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भइ सहकार्य गर्ने प्रतिबद्धता सहित छैटौँ थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको हो ।


कृष्णपुर नगरपालिका वडा नं. ५ सिंहपुरमा आयोजित उक्त सम्मेलनमा १० बुँदे घोषणापत्र जारी गरिएको छ । थारू मातृ भाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकामा विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने घोषणापत्र उल्लेख गरिएको छ।



घोषणापत्रमा भनिएको छ, ‘थारू समुदायका विषयवस्तु उठानका साथै आख्यान विधाका स्रष्टालाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने छन् ।’ थारू लेखक सङ्घ नेपालद्वारा स्थापित थारू भाषा र साहित्यको क्षेत्रमा महत्वपूणर् योगदान दिने स्रष्टालाई सम्मान र पुरस्कारका लागि अक्षयकोष रकम बढाउने सम्मेलनले निणर्य गरेको छ । थारू भाषाको विकासका लागि आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिने र सिर्जनशील लेखनलाई प्रोत्साहन गरिने सम्मेलनबाट निणर्य पारित भएको छ ।
उक्त सम्मेलन आयोजक समितिका सहसंयोजक वीरबहादुर राजवंशीले थरुहट क्षेत्रका प्रत्येक पालिकालाई थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकासका लागि बजेट विनियोजन गर्न लगाउनका लागि दबाब सिर्जना गरिने निणर्य समेत सम्मेलनले गरेको छ । उनका अनुसार साहित्य सम्मेलनको स्मारिका प्रकाशित गर्ने घोषणापत्रमा जनाइएको छ ।
आगामी सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँके जिल्लामा गर्ने निणर्य समेत गरिएको छ । थारू लेखक सङ्घ नेपाल, थारू कल्याणकारिणी सभा, गोचाली परिवार, सिंहपुर युवाक्लबको आयोजनामा यही फागुन १२ देखि १४ गतेसम्म सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा थारू बुद्धिजिवी, साहित्यकार, कवि, लेखक, संस्कृतविद्को जमघट भएको थियो ।



