कैलालीको भजनी हत्या घटनामा संलग्न २ जना पक्राउ, अन्यको खोजी कार्य जारी




धनगढी, ११ फागुन– कैलालीमा बिबाहको कार्यक्रममा कुटपिट पश्चात मृत्यु भएको घटनामा संलग्न २ जना पक्राउ परेका छन्।जिल्लाको भजनी नगरपालिका वडा नं. ९ स्थित बिबाहको कार्यक्रममा यही फागुन ७ गते नाचगान गर्ने क्रममा एक आपसमा बिवाद भई कुटपिट हुँदा २६ बर्षीय बसन्त चौधरी घाइते भएका थिए ।



घोडाघोडी अस्पताल सुख्खडमा सामान्य उपचार पश्चात थप उपचारको लागी कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोमा उपचारकै क्रममा उनको फागुन ८ गते मृत्यु भएको थियो । सोही घटनामा संलग्न भजनी नगरपालिका वडा नं. ९ का दिनेश बिष्ट, लक्ष्मण बराललाई प्रहरीले पक्राउ गरेको हो ।


उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको बताइएको छ ।



