धनगढी मेयर एलपीएल : शारदा सरस्वती र स्टेपिङ स्टोन बिजयी




धनगढी, ११ फागुन– धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग-६ अन्तर्गत आज भएका २ खेलमा शारदा सरस्वती र स्टेपिङ स्टोन स्कुल विजयी भएका छन् ।


जितसँगै शारदाले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । सैनिक स्कुल समूह चरणका सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । स्टेपिङको पनि यो सान्त्वना जित हो भने सत्यवती सेमिफाइनल प्रवेश गरिसकेको छ ।


आज भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधाराले सैनिक आवासीय महाविद्यालय तेघरी माथि १ सय रनको सानदार जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ गर्ने निणर्य गरेको शारदाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो ।
१ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको सैनिकले १५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो। उसका लागि खडक बोहराले २७ र प्रज्वल थापाले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान शारदाका बलर सामु टिक्न सकेनन् ।
सैनिकलाई सस्तैमा समेट्न शारदाका विकास सुनारले ५ विकेट लिए । अर्जुन सिंह साउदले ३, मिलन बोहराले २ विकेट लिए ।
यसअघि शारदाका लागि आक्रामक पारी खेलेका राजेश साउदले २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४५ रनको पारी खेले । उसका सुनिल चन्दले ४१, कप्तान गणेश बिटालुले २७, सागर चन्दले २० रन बनाएर आउट हुँदा हेमन्त धामी ११ रनमा अविजित रहे । सैनिकका खडक बोहराले ३ र आकाश चन्दले २ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच विकास सुनार घोषित भए । गेम चेन्जर अवार्ड अर्जुन सिंह साउदले पाउँदा, सर्वाधिक छक्काको अवार्ड राजेश साउद र सुनिल चन्दले पाए ।
आजै भएको दोस्रो खेलमा स्टेपिङ स्टोनले सत्यवती माथि ३० रनको सान्त्वना जित निकाल्न सफल भयो । टस जितेर ब्याटिङ गर्ने निणर्य गरेको स्टेपिङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
१ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको सत्यवतीले १८.४ मा १ सय २७ रन मात्रै बनाउन सक्यो । उसका लागि आदील अन्सारीले २५, सन्तोष कार्कीले २४, खगेन्द्र जोशीले २२, सुजन गौतमले १६, नीरज भट्टले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । बलिङतर्फ स्टेपिङका दिनेश ओडले ४, कपिल मिश्र, भुपेश जोशी, वीरेन्द्र चन्दले समान २/२ विकेट लिए ।
यस अघि स्टेपिङका लागि अभिषेक कुवरले ४१ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ६५ रनको उत्कृष्ट पारी खेले । दिनेश ओडले २९, वीरेन्द्र चन्दले २१, आर्यान दानपालीले १९ र विशाल विष्टले ११ रन बनाए । बलिङतर्फ सत्यवतीका नीरज भट्ट र सन्दीप खत्रीले समान २/२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अभिषेक कुँवर भए । गेम चेन्जर अवार्ड दिनेश वडले पाउँदा सर्वाधिक छक्काको अवार्ड पनि अभिषेकले नै पाए ।
सत्यवती यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने स्टेपिङ उपाधि होडबाट बाहिरी सकेको टिम हो । समूह चरणको अन्तिम खेलमा भोलि बिहीबार बिहान ९ः३० बजे काठ्माडौंको हिमालयन ह्वाइट हाउस स्कुल र होलिल्याण्ड स्कुल अत्तरिया प्रतिस्पर्धा गर्नेछन् । भोलिको खेल जितेको खण्डमा होलिल्याण्ड सेमिफाइनलमा प्रवेश गर्ने छ । हिमालयन ह्वाइट हाउस, सत्यवती र विद्या भूषण यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
एलपीएलको जारी संस्करणको उपाधि विजेताले १ लाख ५० हजार र उप-विजेताले ७५ हजार पुरस्कार राशि पाउने छन् ।



