आगलागीवाट कैलालीको चुरेमा एक घर जलेर पूर्ण रुपमा नष्ट





अत्तरिया – कैलालीको चुरेमा एक घरमा आगलागी भएको छ । चुरे गाउँपालिका वडा नं. ६ बाहुनपानीमा वनमा फैलिएको आगो स्थानिय दल बहादुर कार्कीको घरमा लाग्दा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । स्थानिय पुरन कार्कीका अनुसार मंगलवार साझँ बनमा लागेको आगो दल बहादुर कार्कीको घरमा सल्किएपछि घर जलेर पुरै खरानी भएको हो । आगलागीवाट घर संगै रहेको गोठ र बाख्राको खोर समेत जलेर खरानी भएको छ । आगलागीबाट घरमा भएको सबै कुराहरु नष्ट भएपछि अहिले दल बहादुर कार्कीको परिवार बिचल्लीमा परेको छ ।


उनले आगलागीवाट आफ्नो ज्यान बचेपनि खाने र बस्ने ठाउँ उजाड भएपछि बिचल्ली भएको दुखेसो पोखे । यसका लागि आफुलाई सहयोग गरिदिन उनले सबैमा अनुरोध पनि गरेका छन् । पछिल्लो समय कैलालीको चुरेसंगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा डेढेलोले पुरै बनजंगल सखाप हुन थालेको छ । बनजंगलमा दन्किरहेको डेढेलो नियन्त्रण तर्फ कसैले ध्यान दिन नसकेको स्थानियहरुले गुनासो गर्दै आएका छन् ।



