उत्तराखण्डका मुख्यमन्त्री सवार हेलिकप्टर नेपाली आकाशै आकाश उड्यो




भारतको उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामी सवार हेलिकप्टर नेपाली आकाश भएरै उडेको छ । आइतवार भारत पिथौरागढ जिल्लाको धारचुलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका मुख्यमन्त्री धामी नेपाली आकाशको बाटो भएर कार्यक्रम स्थल अवतरण भए ।


उक्त हेलिकप्टर नेपाल–भारत सीमा नदी महाकालीभन्दा नेपालतर्फ करिब पाँच सय मिटर जिल्ला सदरमुकाम खलंगामाथि उडेको थियो । नेपाली आकाशमा भारतीय हेलिकप्टर पटक–पटक अनुमतिबेगर उड्ने गरेको छ ।



अर्को देशको आकाशमा विना जानकारी हवाई उडान गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत मानिन्छ । गत साउन १५ गते महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका जयसिंह धामीको खोजबिन गर्न महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकप्टर उडाउन थालेको छ ।
भारतीय हेलिकप्टर प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयमाथि भएर उड्छ । केही महिनाअघि मात्र नेपाली सुरक्षा व्यारेकमाथि हेलिकप्टर उडाएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारत पिथौरागढस्थित जिल्लाधिकारीलाई विना अनुमति हेलिकप्टर नउडाउन भनेर पत्र लेखेको थियो ।
सोहीबारे प्रशासनले नेपाल सरकार गृह मन्त्रालयलाई जानकारी पत्रसमेत पठाएको थियो । नेपालले चिठी नै लेखेपछि भने केही समय नेपाली आकाशमा नउडेको भारतीय हेलिकप्टर फेरि उड्न थालेको छ ।



