बाजुराको कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

कालाजग्रास्थित टेलिफोन टावरमा विद्युत् आपूर्ति नहुँदा बाजुराको पूर्वी उत्तरी भेगको चार स्थानीय तहमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। हिमपातका कारण सोलारले काम गर्न छाडेपछि कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले जानकारी दिए।

सो क्षेत्रमा पटक–पटक टेलिफोन सेवामा समस्यामा आउने गर्दछ। “सामान्य बादल लाग्नेबित्तिकै टावर गइहाल्छ, यसपटक तीन दिनसम्म लगातार हिमपात भएकाले टावर आउने कुरै रहेन”, कोल्टीका व्यापारी जनम धामीले भने। समस्या समाधानका लागि यहाँका स्थानीय तह र टेलिकमले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन्।

Navadurga sun

कोल्टी क्षेत्र सम्पर्कविहीन बनेपछि स्थानीयवासीको दैनिकीसमेत प्रभावित भएको छ। बडिमालिका नगरपालिका स्थित कालाजग्रमा रहेको टेलिकमको रिपिटर टावरले पनि हिमपातका कारण काम गर्न छाडेको छ। टेलिकमका सेवा अवरुद्ध भएपछि यहाँका सञ्चारमाध्यम तथा बैंकको सेवा अवरुद्ध हुन पुगेको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष छक्क मल्लले बताए।

हिमपातका कारण बाजुरालगायत समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक–पटक फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीलाई निकै सास्ती भएको छ। बाजुराको टेलिफोन मर्मतका लागि प्राविधिकको समस्या रहेको टेलिकम सुदूरपश्चिम प्रदेश प्रमुख नामाकरण न्यौपानेले बताए। हवाई सेवा सुरु भए प्राविधिक पठाउने उनले जानकारी दिए।

हिमपात हुने बित्तिकै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टेलिकमको टेलिफोन सेवा अबरुद्ध हुने गर्दछ। गत बिहीबारको हिमपातले बाजुरासहित अछाम र बझाङमा टेलिफोन सेवा अवरुद्ध रहेको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...