फागुन १९ देखि २८ गतेसम्म ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगिता हुने
प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने





धनगढी, १९ माघ– सर्वाधिक पुरस्कार राशिको ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगिता आगामी फागुनमा सञ्चालन हुने भएको छ ।


धनगढी स्थित क्षेत्रीय रङ्गशालामा फागुन १९ देखि २८ गतेसम्म सुदूरपश्चिम खप्तड गोल्ड कप सञ्चालन हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जानकारी दिएको छ ।



सो फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका महा(सचिव प्रकाश शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार प्रतियोगितामा ए डिभिजनका पाँच, मोफसलका दुई, विदेशी दुई र एक आयोजक क्लबको टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मीड–फिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई जनही २० हजार रुपियाँका दरले पुरस्कार प्रदान गर्ने अध्यक्ष सुरेश हमालले जानकारी दिए । यस्तै, हरेक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि डेढ करोड रुपियाँ खर्च हुने पत्रकार सम्मेलनमा जनाइएको छ । एन्फा तथा फिफाको नियम अनुसार खेलाइने प्रतियोगिताको हरेक टिममा विदेशी खेलाडीहरूको पनि सहभागिता रहने आयोजकले जानकारी दिइएको छ ।
यसै गरी, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक ब। सिंहले आफू जिल्ला खेलकुदको अध्यक्ष रहँदा देखी नै क्लब मार्फत खेलकुद प्रतियोगिता आयोजना गर्नमा लागी परेको बताउँदै सिङ्गो खेलकुद जगत र क्लबलाई जोगाउन लागी अहिले पाँचौँ संस्करणमा प्रवेश गरेको ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगिता लाई ५० औँ संस्करण सम्म पुर्याउन सबैलाई हातेमालो गर्न आग्रह गरे।
पाँचौँ संस्करणको ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगितामा अनुमानित दैनिक पाँच हजार दर्शकले गोल्ड कपको खेल अवलोकन गर्ने र अप्रत्यक्ष रूपमा ५० लाग बढी दर्शकहरूले खेलकुदबारे जानकारी पाउने आयोजकको दाबी छ ।



