कञ्चनपुरका ३ पालिकामा २ महिना बिजुली अवरुद्ध हुने
कञ्चनपुर, १७ माघ– नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने भएको छ । माघ १८ गतेदेखि २ महिनासम्म विहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।


झलारी-बेलौरी ३३ केभी लाइन पुरानो र जीर्ण हुँदै गएकाले सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि विद्युत लाइन अपग्रेड गर्न विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।

ग्राहकको संख्या उल्लेख रुपमा बढ्दा लोडसमेत बढेकाले लाइन अपग्रेड गर्न लागेको केन्द्रले बताएको छ । वितरण केन्द्रले जारी गरेको सूचनामा भनिएको छ,‘गर्मीको समयमा उत्पन्न हुने परिस्थितिलाई मध्यनजर गर्दै लाइन अपग्रेड गर्न लागिएको छ ।’
झलारी-बेलौरी ३३ केभी लाइन अन्तर्गत लालझाडी गाउँपालिकाका साथै बेलौरी र पुर्नवास नगरपालिका पर्छन् । दुई वटै नगरपालिकाका सम्पूर्ण वडा र लालझाडी गाउँपालिकाको वडा नम्बर १ र २ मा विद्युत अवरुद्ध हुने भएको छ ।
