कोरोना संक्रमणका कारण कैलालीका आधा दर्जन सरकारी कार्यालय बन्द





अत्तरिया, १३ माघ– कोरोना संक्रमण फैलिन थालेसंगै कैलालीका सरकारी कार्यालयहरु बन्द हुन थालेका छन । कर्मचारीहरुमा कोरोना देखिन थालेपछि कैलालीमा आधा दर्जन सरकारी कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेका हुन् ।


कर्मचारीमा कोरोना देखिनथालेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवा बन्द गरेको छ । मन्त्रालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना देखिएपछि माघ ९ गते देखि नै अनिश्चित कालका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो ।


१५ जना कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय आईतबार देखि नै बन्द गरिएको छ । जिल्लामा बिभिन्न पालिकाहरुले पनि कर्मचारीमा कोरोना देखिएको भन्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन । हाल कैलालीमा १३ मध्ये ५ पालिकाले अत्यावश्क बाहेकका सेवा बन्द गरेका छन ।

त्यस्तै धनगढी उप-महानगरपालिकाले पनि माघ १२ देखि १८ गतेसम्म एक हप्ताका लागि बन्द गरेको जनाएको छ । उपमहानगरपालिकाले कर्मचारीहरुमा कोभिड संक्रमण पुष्टि भएको र केही कर्मचारीहरुलार्य मिल्दोजुल्दो लक्षण देखा परेकोले अत्यावश्यक सेवा बाहेक यस कार्यालय र वडा कार्यालयबाट प्रदान गरिने अन्य सेवाहरु हाललाई बन्द गरिएको सूचना मार्फत जानकारी गराइएको छ ।
त्यस्तै गौरीगंगा नगरपालिकाले पनि माघ १२ देखि नै अनिश्चित कालका लागि सेवा बन्द गरेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले नगरपालिकाका कर्मचारीमा कोरोना देखिएकाले अर्को सूचना जारी नभए सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताइएको छ ।
त्यस्तै भजनी नगरपालिकाले पनि माघ १३ गते देखि १९ गते सम्मका लागि सेवा बन्द गरिएको छ । यस कार्यालय र वडा कार्यालयहरुको आन्तरिक व्यवस्थापन तथा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकाजहरु बन्द गरिएको सूचना मार्फत जानकारी गराइएको छ ।
त्यस्तै जोशीपुर गाउँपालिकाले पनि माघ ११ गते देखि १ साताका लागि सेवा बन्द गरिसकेको छ । गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकाजहरु बन्द गरिएको सूचना मार्फत जानकारी गराइएको छ ।
त्यसैगरी गोदावरी नगरपालिकाले भने माघ ९ गते देखि नै सेवा बन्द गरिसकेको छ । नगरपालिकाका १५ जना कर्मचारीका कोरोना देखिएपछि माघ ९ देखि १५ गते सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो ।



