अत्तरियामा कांग्रेसको नगर, प्रदेश सभा र क्षेत्रका निर्वाचित भएका नयाँ पदाधिकारीहरुको पदस्थापन





अत्तरिया, ८ माघ– कैलालीमा नेपाली कांग्रेसको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ । शनिबार कैलालीको अत्तरियामा सम्पन्न एक कार्यक्रमका बिच कांग्रेसको १४ औ महाधिवेशनबाट गोदावरी नगरपालिका, प्रदेश सभा (ख) र क्षेत्र नं ४ मा निर्वाचित भएका नयाँ पदाधिकारीहरुको पदस्थापन गरिएको हो ।


क्षेत्र नं ४ का नवनिर्वाचित क्षेत्रिय सभापति बसन्त रोकाया ललितको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका नेपाली कांग्रेसका महासमिति सदस्य सुनिल कुमार भण्डारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी महासमिति सदस्य भण्डारीले कांग्रेसका सम्पूणर् आस्थावानहरु अब एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका थिए ।


उनले बिगतका कमी कमजोरीहरुलाई भूलेर अब नयाँ तरिकाले काग्रेसलाई कसरी यस क्षेत्रमा बलियो बनाउन सकिन्छ भनेर सबैले आ-आफ्नो ठाउँवाट लाग्नुपर्ने समेत बताएका थिए । कांग्रेस पार्टी सकिए सबैको अस्तित्व सकिने भएकाले यसलाई जिवित र अझै उर्जावान बनाइराख्न सबैलाई एक ढिक्का भएर हातमा हात मिलाएर अगाडी बढ्न महासमिति सदस्य भण्डारीले आग्रह गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै कांग्रेसका महासमिति सदस्य यज्ञराज चौधरीले आफ्नो आन्तरिक चुनाब र अन्य पार्टीसंग हुने चुनाब फरक पाटो रहेको बताए । उनले पार्टी भित्रको आन्तरिक चुनाबमा भएका कुराहरुलाई लिएर अन्य पार्टीसंगको चुनाब सम्म पनि मनमै राखिरहदाँ पार्टीले ठूलो क्षति बेहोर्ने हुदाँ सबैले यस तर्फ सचेत हुनुपर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै नवनिर्वाचित क्षेत्रिय सभापति बसन्त रोकाया ललीतले बिगतमा भएका सबै तिता मिठा कुरालाई भूलेर आफू अगाडी बढ्ने बताए । उनले यहाँ ब्यक्ति भन्दा पनि संगठन बलियो बनाउनुपर्ने भएकाले काग्रेसका आस्थाबान सबैले बिगतका कुराहरुलाई भूलेर अब नयाँ जोस र जागँरका साथ अगाडी बढ्नुपर्ने बताए ।
उनले पार्टीको नेतृत्वमा पुग्नका लागी अधिवेशनमा ठूलै प्रतिष्पर्धा भएपनि अब अधिवेशन सँगै त्यो प्रतिष्पर्धा पनि सकिएको बताए । उनले हिजोका दिनमा प्यानल सहित आफूहरु चुनाबमा होमिएपनि अब भने सबै एकै ठाउँमा उभिनुको बिकल्प नरहेको बताए । उनले अब स्थानिय तह देखी संघको निर्वाचन नजिकिदै गरेकाले अब सबैमा काग्रेसलाई कसरी बलियो रुपमा लैजाने र चुनाब काग्रेसको पक्षमा पार्ने भन्ने बिषयमा सबैले चिन्तित र ममन गर्नुपर्ने बताएका छन् ।
निर्वाचनका बेला कसैलाई चाकरीका अधारमा नभई अब बास्तविक गाउँ गाउँमा काम गरेका जनतासँग प्रत्यक्ष जोडिएर सहयात्री बनेका र आफ्ना लागि भन्दा पनि संगठनका लागि मरिमेट्नेलाई टिकट दिइने बताएका छन् । सभापति रोकायाले टिकट भन्दा पनि तपाईहरुले गर्ने काम महत्वपूणर् हुने भएकाले आफ्नो कामप्रतिको लगाबलाई एकदमै इमान्दारी पूर्वक अगाडी बढाउन सम्पूर्ण काग्रेसका नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा क्षेत्र नं ४ का निर्वतमान क्षेत्रिय सभापति दिनेश राज जोशीले नवनिर्वाचित क्षेत्रीय सभापति बसन्त रोकाया, निर्वतमान प्रदेश सभा (ख) का सभापति खेम साउँदले नवनिर्वाचित सभापति गोपाल दत्त भट्ट र निर्वतमान नगर कार्यसमिति सचिव तेज खड्काले नवनिर्वाचित नगरसभापति विर बहादुर चोखाललाई पार्टीका माईन्युटहरु हस्तान्तरण गरेका थिए । शनिबार गरिएको पदस्थापन कार्यक्रमको सञ्चालन नेपाली कांग्रेसका गोदावरी नगर सचिव अशोकराज देवकोटाले गरेका थिए ।



