आज विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

Dadeldhura hospital
अत्तरिया- विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी आज (मंगलबार) देशभर श्रीपञ्चमी पर्व मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास समेत रहेको पाइन्छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्नको लागि एकदमै शुभ दिन मान्ने गरिन्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
यस दिन विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य गर्दा गराउँदा साइत पर्खन नपर्ने प्रचलन पनि छ । देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वतीको पूजा विधि विधान समेत लेखिएको छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस दिन कलेज स्कुल विद्या आर्जन गर्ने शैक्षिक संघसंस्था लगायत सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।
Loading...