शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपंक्षी गणना सुरु




कञ्चनपुर, १८ पुस– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा आजदेखि जलपंक्षी गणनाको कार्य सुरु गरिएको छ । निकुञ्ज भित्रका र बाह्य क्षेत्रका ताल तलैया नदीहरूमा जलपंक्षी गणनाको कार्य सुरु गरिएको हो ।


आइतबारदेखि सुरु गरिएको जलपंक्षी गणनाको कार्य माघ २ गते सम्म जारी रहने छ । जलपंक्षी गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पंछी संरक्षण संघका विज्ञहरू, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एसोसिएसनका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।


जलपंक्षी गणनाको कार्यमा संलग्नहरूले वाइनाकुलर, टेलिस्कोप, क्यामेरा लगायतको प्रयोग गरी गणनाको कार्य गरि रहेको नेपाल पंछी संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौराले बताए । कुनै क्षेत्रमा स्थलगत रुपमा पुगेर र कुनै ठाउमा डुङगा लगायतमा चढेर समेत जलपंक्षी गणनाको कार्य हुने उनले बताए ।

उनका अनुसार रानीताल, तारा ताल, कालिकिच ताल, बेदकोट, बन्दा ताल, पुरैनी ताल, प्यारा ताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपंक्षी गणनाको कार्य हुनेछ । अरु ताल र नदीमा पैदल हिडेरै गणनाको कार्य हुने भएपनि निकुञ्ज भित्रको सलगौंडी तालमा भने हात्तिमा चढेर जलपंक्षी गणनाको कार्य हुनेछ ।
गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका ताल तलैयामा जलपंक्षी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँस लगायत ४८ प्रजाति देखा परेका थिए । ताल तलैयामा जलपंक्षीको संख्या यकिन गर्ने कार्य संगै सिमसारको अबस्था बारेमा समेत अध्ययनको कार्य हुने डगौराले बताए ।
त्यसैगरी आइतबार देखि नै कैलालीको ताल तलैया र सिमसार क्षेत्रमा समेत जलपंक्षी गणनाको कार्य सुरु गरिएको छ । घोडाघोडी ताल क्षेत्रबाट जलपंक्षी गणनाको कार्य सुरु गरिएको चरा विज्ञ डगौराले जानकारी दिए ।
घोडाघोडीसहित कोहली, लोकाभौका, घोडा, सुनियारुपिया, पुरैना लगायतका ताल र कणर्ाली नदीमा जलपंक्षी गणनाको हुनेछ । कणर्ाली नदीमा र्यार्फ्टीङको प्रयोग गरी जलपंक्षी गणना हुनेछ । गत वर्षको गणनामा कैलालीका जलाधार क्षेत्रमा ३२ प्रजातिका जलपंक्षी देखा परेका थिए ।



