कैलालीमा युवकको विभत्स हत्यापछिको प्रहरीले पायो फोन रेकर्ड




धनगढी, ४ पुस– कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्यापछिको फोन रेकर्ड बाहिरिएको छ । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएको हो ।


फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन् । मनोजले फोन रेडर्कमा भनेका छन्, ‘घाटी अलग छ शरिर अलग छ । तपाईँ एक/दुई दिनमा थाँहा पाउनुहुन्छ ।’ मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा भनेका छन् ।



प्रहरीका अनुसार दासको विभत्स ढंगले हत्या गरिएको छ । उनलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको छ । त्यसपछि घाँटी रेटेर टाउको अलग बनाइएको छ । कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते नै तालिम प्राप्त कुकुर सहित घटनास्थल पुगेको थियो ।
‘हत्यापछिको अडियो रेकर्ड हामीले पाएका छौं,’ एसपी अधिकारीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ । शंकास्पद व्यक्ति उपर अनुसन्धान बढाएका छौँ । डग स्निफिङ पनि गराइएको छ ।’
स्थानीयका अनुसार मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् । जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन् ।
स्थानीयका अनुसार दास भने नेपाल-भारत गरिरहन्थे । एक प्रहरी अधिकारीका अनुसार लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै सो क्षेत्रमा लागुऔषधकै विषयमा भएको विवादले विभत्स हत्या भएको हो ।



