जङ्गली हात्तीको त्रासः जीउधनको सुरक्षाका लागि भौतारिँदै शिविरका बासिन्दा

कञ्चनपुर, २८ मंसिर- कञ्चनपुरको ढक्कामा बस्दै आएका आरक्ष विस्थापित परिवारले जङ्गली हात्तीको बथानले गर्ने आक्रमणबाट जीउधनको सुरक्षाको ग्यारेण्टी गर्न माग गरेका छन्। शनिबार राति शिविरमा बस्दै आएका ४५ वर्षीय खगिराज रानाको हात्तीले आक्रमण गरी ज्यान लिएपछि यस क्षेत्रको जनजीवन त्रसित भएको छ।

जङ्गली हात्तीको बथानले दैनिक शिविरमा छिरेर झुपडी भत्काउने र मानवीय क्षति गर्न थालेपछि विस्थापित परिवारले बाँच्न पाउने मौलिक अधिकारको सुनिश्चितता गर्नका लागि माग गरेका हुन्। तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापनमा परेका परिवार पुनःस्थापनको माग गर्दै ढक्कामा शिविर बनाएर बस्दै आएका छन्।“

Navadurga sun
Godawari sandesh

पुनःस्थापन नहुँदा विस्थापित परिवार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउ बस्दै आएका छौँ”, आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले भने, “निकुञ्ज छेउ बस्दा हात्तीले आक्रमण गरी ज्यान लिन थालेको छ, तत्काल पुनःस्थापन गरी जङ्गली जनावरको आक्रमणबाट हुने क्षति रोक्नका लागि माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छौँ।” हात्ती भगाउनका लागि आवश्यक उपाय अवलम्बन गर्नका लागि आग्रह गरिएको उनले बताए।

Dadeldhura hospital

“बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरी सुरक्षा प्रबन्ध मिलाइदिन सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीलाई भनेका छौँ”, उनले भने, “सहायक प्रजिअ भण्डारीले जङ्गली हात्तीको आक्रमणबाट शिविरका बासिन्दालाई जोगाउनका लागि भरपर्दो सुरक्षाको प्रबन्ध गरिने अश्वासन दिनुभएको छ।”हात्तीको डरले साँझ नपर्दै शिविरका बासिन्दा बस्दै आएको ठाउँ छाडेर सुरक्षित ठाउँमा सुत्नका लागि जाने गर्न थालेका छन्।

“निकुञ्ज क्षेत्रबाट दाउरासमेत सुरक्षार्थ तैनाथ नेपाली सेनाले ल्याउन दिँदैन”, स्थानीयवासी भगिरथ भट्टले भने, “आगो बालेको देखेर हात्ती आउँदैनथ्यो, दाउरा नहुँदा त्यो समेत गर्न पाएका छैनौँ । सुरक्षाका लागि नजिकको चानदेउमा बालबालिका बोकेर खुला आकाशमुनि सुत्नका लागि जानुपरेको छ।” आरक्ष विस्तारका क्रममा विसं २०५८ मा विस्थापनमा परेका परिवार ढक्का शिविरमा बस्दै आएका छन्।जङ्गली हात्तीको आक्रमणबाट बेलडाँडी गाउँपालिका–२ का ४५ वर्षीय राधादेवी बोगटीसमेत आइतबार राति घाइते भएकी छन्।

जङ्गली हात्तीको बथानले घर भत्काउने क्रममा बोगटी घाइते भएकी हुन्। “सुतेको बेला हात्तीले घर भत्काउन थाल्यो”, घाइते राधाका श्रीमान् रामबहादुर बोेगटीले भने, “भाग्ने क्रममा उनी घाइते भएकी हुन् ।” हात्तीले बोगटीको घरभित्र भण्डारण गरेर राखेको १० क्विन्टल बढी धानसमेत खाएर नोक्सान गरेको छ ।

घर पूरै भत्काएर क्षतिग्रस्त बनाएको छ।यसैबीच सोमबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयलगायतको टोलीले हात्तीले मानवीय क्षति पु¥याएको ढक्का शिविर र बेलडाँडी क्षेत्रको अनुगमन गरेको छ।

हात्ती प्रभावित क्षेत्रको अनुगमन गर्दै प्रजिअ पाण्डेयले हात्ती नियन्त्रणका लागि प्रभावकारीरूपमा कार्य अगाडि बढाइने बताए। उनले प्रहरीमार्फत हात्ती भगाउन सुरक्षाकर्मी परिचालनसँगै प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सामग्री उपलब्ध गराउने अश्वासनसमेत दिए। मानवीय क्षति व्यहोरेका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि पहल गर्ने वचनबद्धतासमेत प्रकट गरेका छन्। (रासस)

Loading...