केन्द्रिय सदस्य (प्रदेश) पदमा डाक्टर रावलको उम्मेदवारी घोषणा




अत्तरिया, २३ मंसिर– नेपाली काँग्रेसका नेता डाक्टर रणबहादुर रावलले केन्द्रीय सदस्य (प्रदेश) पदमा उम्मेदवार दिने घोषणा गरेका छन् । मंसिर २४ गतेदेखि हुन लागेको काँग्रेसको १४ औ महाधिवेशनमा उनले सो पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको परामर्शमा देउवा समुहबाट आफु केन्द्रिय सदस्य (प्रदेश) पदमा उम्मेदवारी दिने काँग्रेस नेता रावलले बताए ।


प्रमुख प्रतिपक्ष दल समेत रहेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका काँग्रेस नेता राउलले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषण गरेसंगै प्रचार–प्रसार समेत थालेको बताए । नेपाली काँग्रेसलाई युवाको रोजाईको पार्टी बनाउन र गुटबन्दी अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको डाक्टर रावलको भनाई छ । ‘राणाशासनको अत्याचारलाई विर्साउने गरि हामीले पञ्चायती काल भोग्यौ ।



राजा ज्ञानेन्द्रको शाही काल भोग्यौ र केपी ओलीको शासन सञ्चालन गर्ने अशिष्ठ शैली पनि भोग्यौ । दुई तिहाईको दम्भ बोकेर उनले नेपाली कांग्रेस माथि प्रहार गर्ने गरेको वैचारिक दरिद्रतालाई पनि नजिकैबाट अनुभव गर्न पायौं’ उनले भने ‘यस्तै यस्तै राप र तापबाट खारिएको पार्टिनै नेपाली कांग्रेस हो ।
त्यसैले यसलाई जीवन्त गतिशील र पारदर्शि बनाउँदै कार्यकर्तामुखि पनि बनाउनु छ ।’ उनले पार्टीभित्रै जब–जब मतभेद र मनमुटाव उत्पन्न हुन्छ तब तब निर्वाचनमा बहुमत गुमाउने गरेको बताए । ‘जब–जब एक ढिक्का हुन्छौं तब बहुमत ल्याउने गरेका छौं । गएको निर्वाचनमा पनि केहि प्रतिशत हाम्रा कारणले त केहि प्रतिशत वामपन्थीहरु एक ढिक्का भएका कारणले हामी दोस्रो पार्टिका रुपमा झर्न पुगेका थियौं’ उनले भने ‘कम्युनिष्टहरु फुट्दा यतिबेला हामी सत्तामा पुगेता पनि जनादेशका कारण हाम्रो स्थान प्रतिपक्ष नै हो । हाम्रा अगाडी स्थानिय देखि संघिय निर्वाचनले पाइला टेकिसकेको अवस्था छ ।
त्यसमा हामीले विजय हासिल गर्नु छ र पुनः आफनै बहुमतको सरकार बनाउनु छ । त्यसका लागी पनि कांग्रेस एक ढिक्का हुनु जरुरी छ ।’ उनले महाधिवेशनबाट संस्कार विचार आदर्श र अनुभवयुक्त कांग्रेसलाई शक्तिशाली पार्टिका रुपमा उभ्याउन उम्मेदवारी दिएको बताए । ‘नेतृत्व राम्रो भयो भने हामी अवस्य पनि सफल हुनेछौं’ उनले भने – ‘त्यसैले यो अधिवेशनबाट हामीले हाम्रो हैन राम्रो नेतृत्व चयन गरौं । त्यो राम्रो नेतृत्व शेरबहादुर देउवाबाटै संभव छ र उहाँकै नेतृत्वबाट हामिले निर्वाचनमा सफलता प्राप्त गर्न सक्ने छौं ।’ उनले महाधिवेशनमा सुदुरपश्चिम प्रदेश (भूगोल) तर्फबाट केन्द्रिय सदस्यको पदमा उम्मेद्वारी दिने बताए ।



