कैलालीको गोदावरी नगरपालिकाका १२ वटै वडामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन





अत्तरिया, २२ मंसिर- कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरणका लागि विवरण संकलन गरिने भएको छ । सोही परियोजनका लागि मंगलबार जिल्ला प्रशासन कार्यालय कैलालीले अत्तरियामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।


कार्यक्रम नगरपालिकाका १२ वटै वडामा विवरण संकलनका लागि कर्मचारी परिचालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदिश जोशीले कैलालीमा राष्ट्रिय परिचय पत्रको विवरण संकलनको अभियान संचालन गरिएको बताए । उनले सोही क्रममा जिल्लाका ११ पालिकामा अभियान सम्पन्न भएकाले बाँकी धनगढी उपमहानरपालिका र गोदावरी नगरपालिकामा अभियान संचालन गर्न लागिएको बताए ।
‘सम्भवत एक साता भित्रबाटै गोदावरीमा अभियान संचालन गर्ने छौ । सोही क्रममा हामीले मंगलबार अभिमुखिकरण कार्यक्रम पनि संचालन गरेका छौ’ उनले भने ‘यो राष्ट्रिय अभियानलाई सफल पार्नका लागि गोदावरीमा १७ दिनको कार्यक्रम संचालन गरिने छ ।’ जसका लागि प्रशासनले पञ्चिकरण कार्यालय मार्फत ५६ जना अपरेटर गोदावरीका १२ वटै वडामा पठाउने भएको छ ।

उक्त अभियानका लागि रुजु अधिकारी भने गोदावरी नगरपालिकाले नै निजामति कर्मचारी वा स्थायी शिक्षक छनोट गरी पठाउनु पर्ने छ । जसका लागि २५ जना रुजू अधिकारी आवश्यक पर्ने छन । रुजु अधिकारी तोक्ने जिम्मेवारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले बताए ।
उक्त कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अभियान संचालनका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । उनले बिवरण संकलन गर्ने क्रममा गलत जानकारी टिपाएमा कारबाही हुने बताए ।
नगरका वडा अध्यक्ष र सचिव सहभागि कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘गलत वितरण भरेको पाइएमा सिफारिस गर्ने व्यक्ति पनि कानुनको भागिदार बन्छ ।’ कानुनमा जे लेखिएको वा भनिएको छ त्यही अनुसार सिफारिस गर्नुहोला । उनले यसका लागि वडा अध्यक्षको बढी भूमिका हुने भएकाले गलत बिवरण भरिनबाट रोक्न सजक हुनुपर्ने बताए ।
गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले नगरपालिकाले छिटै रुजु अधिकारीको नाम जिल्ला प्रशासनमा पठाउने बताए । ‘हामीले यताबाट रुजु अधिकारीको नाम पठाउने बितिकै बिवरण संकलनको टोली आउने भनिएको छ’ उनले भने ‘हामीले यस बिषयमा छलफल गरेर छिटै टुंग्याउन्छौ ।’
राष्ट्रिय परिचय पत्र वितरणका लागि ल्यापटप, डिजिटल क्यामेरा लगायतका सामग्री र प्राविधिक सहितको टोली परिचालन गरिने छ । उक्त बिवरण नागरिकता प्राप्त गरेकाहरुको भरिने जनाइएको छ । बिवरण संकलन पछि नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स (औठा) छापसहितको स्मार्ट कार्डजस्तो राष्ट्रिय परिचयपत्र वितरण हुनेछ । कैलालीमा भने विवरण संकलन गरेपछि राष्ट्रिय परिचय पत्र वितरण गर्न कम्तिमा १ बर्ष लाग्ने जनाइएको छ ।



