कैलालीमा बालक हत्याको अभियोगमा एक महिला पक्राउ




धनगढी, १७ मंसिर– जिल्लामा एक बालक हत्याको अभियोगमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका वडा नं. २ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं. २ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् । उनीमाथि आफ्नो छोरा नाता पर्ने ३ वर्षका बालक निशान्त थापामगरलाई विषादी खुुवाएर हत्या गरेको आरोप लागेको छ।



निशान्त मागीका श्रीमान बहादुर रोकायाका कान्छी श्रीमती निर्मलाका छोरा हुन् । बालकको मृत्युपछि आफ्ना १४ वर्षकी छोरी र ८ वर्षका छोरालाई लिएर भारततर्फ जाँदै गरेकी उनलाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दूधमा मुसा मार्ने औषधी मिसाएर खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।


प्रहरीका अनुसार मागीका श्रीमान बहादुर रोकाया कान्छी श्रीमती निर्मलासँगै भारतमा बस्दै आएका थिए । मागी भने आफ्ना दुई छोराछोरी र निर्मलाको छोरासँगै धनगढीमा बस्दे आएकी थिइन् । घटनाको भएको दिन कार्तिक २९ गते श्रीमानसँग वादविवाद र झगडा भएको खुुलेकाले रिसको झोँकमा बालकको हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
विवादपछि मागी सम्पर्कमा नआएपछि भारतमा रहेका बहादुर रोकायाले आफन्तलाई बुुझिदिन आग्रह गरेका थिए । आफन्त उनको कोठामा पुग्दा बालक मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।अहिले मागी रोकायाविरुद्ध कर्तव्य ज्यान मुुद्दा दर्ता गरेर अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



