कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण, १० दिनभित्र लैजान आग्रह

कञ्चनपुर- कृषि सामग्री कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण गरेको छ। कम्पनीले जिल्लाका स्थानीय तहका लागि ५४१ मेट्रिक टन युरिया र ४८७ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरेको हो।

कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक हेमराज जोशीका अनुसार प्रदेश मल वितरण व्यवस्थापन समितिबाट शाखालाई प्राप्त हुने मलको परिमाणका आधारमा स्थानीय तहको कोटा निर्धारण गरिएको हो।

Navadurga sun

निर्धारित कोटाअनुसार भीमदत्त नगरपालिकाले १०३ मेट्रिक टन युरिया र ९३ मेट्रिक टन डिएपी मल पाउनेछ। बेदकोट नगरपालिकाका लागि ९५ मेट्रिक टन युरिया र ८५ मेट्रिक टन डिएपी तथा शुक्लाफाँटा नगरपालिकाका लागि ९५ मेट्रिक टन युरिया र ८६ मेट्रिक टन डिएपी मल छुट्याइएको छ।

त्यसैगरी, दोधारा चाँदनी नगरपालिकाका लागि ७९ मेट्रिक टन युरिया र ७१ मेट्रिक टन डिएपी, कृष्णपुर नगरपालिकाका लागि १०३ मेट्रिक टन युरिया र ९३ मेट्रिक टन डिएपी तथा बेलडाँडी गाउँपालिकाका लागि ६४ मेट्रिक टन युरिया र ५७ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको छ।

प्रबन्धक जोशीका अनुसार स्थानीय तहले आफ्नो कोटाभित्र रहेर पालिकाअन्तर्गतका सहकारीलाई उपलब्ध गराउनुपर्ने मलको परिमाणसहित सिफारिस पठाउनुपर्नेछ। स्थानीय तहको सिफारिसका आधारमा कम्पनीले बुधबारदेखि नै सहकारीमार्फत रासायनिक मल वितरण गर्ने जनाएको छ।

मल बिक्री गर्ने सहकारीले किसानलाई वितरण गरेको मलको विवरण एफएमएस प्रणालीमा अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ। साथै, अनुदानको मल वितरण व्यवस्थापन कार्यविधिअनुसार आवश्यक विवरण तथा प्रतिवेदन तयार गरी सम्बन्धित स्थानीय तहबाट प्रमाणित गराएर कम्पनीको महेन्द्रनगर शाखामा पेस गर्नुपर्ने व्यवस्था रहेको छ।

कम्पनीले स्थानीय तह तथा सम्बन्धित सहकारीलाई निर्धारण गरिएको कोटाअनुसारको मल १० दिनभित्र लैजान अनुरोध गरेको छ।

ADD Khali jpg
Loading...