धनगढीमा कविता मृत्यु प्रकरण : श्रीमान् र सासु पक्राउ

धनगढी- कैलालीको धनगढीमा २१ वर्षीया कविता जोशी पाठकको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान् र सासुलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–६, मटियारीस्थित आफ्नै घरको कोठामा कविता मृत फेला परेकी थिइन्।

प्रहरीका अनुसार राति साढे ८ बजेतिर घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मृतकका माइती पक्ष तत्काल बझाङमा रहेकाले घटनास्थललाई रातभर सुरक्षित राखिएको थियो। भोलिपल्ट बिहान प्रहरी निरीक्षक लोकराज जोशीको नेतृत्वमा सोकोसहितको टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो।

Navadurga sun

कविताका श्रीमान् सरोज पाठकले कात्तिक ७ गते श्रीमतीले झुण्डिएर आत्महत्या गरेको भन्दै कानुनबमोजिम प्रक्रिया अघि बढाउन र शव बुझ्न निवेदन दिएका थिए। तर, कात्तिक ८ गते मृतकका माइती पक्षले श्रीमान् सरोज पाठक र सासु कमला जोशी पाठकविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको कसुरमा किटानी जाहेरी दिएका थिए।

प्रहरीले जाहेरी दर्ता गरी सोही दिन सरोजलाई पक्राउ गरेको थियो। शव परीक्षणपछि मृतकका ससुरा नाता पर्ने यज्ञराज पाठकले शव बुझेर लगेका थिए। प्रहरीले कात्तिक ९ गते मृतककी सासु कमला जोशी पाठकलाई समेत पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यता, माइती पक्षले भने शव समेत हेर्न नदिएर अन्त्येष्टि गरेको गुनासो गरेका छन्। मृतककी भाउजु तुलसी जोशीले नन्दको शव समेत हेर्न नपाएको बताइन्। माइती पक्षले प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

ADD Khali jpg
Loading...