गेटा विश्वविद्यालयमा एमबीबीएससहित चार शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति, ९० विद्यार्थीले पढ्न पाउने
अत्तरिया- सुदूरपश्चिम प्रदेशको कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा एमबीबीएससहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगले स्वीकृति दिएको छ। आयोगले पहिलोपटक सिट निर्धारण गरेसँगै विश्वविद्यालयमा चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने बाटो खुलेको हो।




विश्वविद्यालय प्रशासनका अनुसार नयाँ शैक्षिक सत्रदेखि एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याबोरेटरी टेक्नोलोजी (एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० गरी कुल ९० विद्यार्थीलाई अध्ययन गराउन अनुमति प्राप्त भएको छ।





निर्धारित सिटमा भर्नाका लागि कात्तिक १४ देखि १८ गतेसम्म तोकिएका केन्द्रमा एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने जनाइएको छ। प्रवेश परीक्षा तथा भर्नासम्बन्धी विस्तृत विवरण चिकित्सा शिक्षा आयोगको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।
विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दले आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन र कानुनी मापदण्ड पूरा गरेपछि चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त भएको बताए। उनका अनुसार एमबीबीएसलगायतका कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइएको छ।
चिकित्सा शिक्षा अध्ययन गर्न सुदूरपश्चिमका विद्यार्थीले प्रदेशबाहिरका शैक्षिक संस्थामा निर्भर रहनुपर्ने अवस्थालाई कम गर्न विश्वविद्यालयमा सुरु हुन लागेको पठनपाठन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। यसबाट प्रदेशका विद्यार्थीलाई आफ्नै क्षेत्रमा चिकित्सा शिक्षा हासिल गर्ने अवसर विस्तार हुनुका साथै अन्य क्षेत्रबाट समेत विद्यार्थी आकर्षित हुने विश्वास गरिएको छ।


विश्वविद्यालयमा चिकित्सा शिक्षाको पठनपाठनसँगै अस्पतालको सेवा र क्षमता विस्तारको काम पनि अघि बढाइएको छ। विश्वविद्यालय प्रशासनका अनुसार चिकित्सा शिक्षा ऐनअनुसार गेटामा ३०० शय्याको अस्पताल सञ्चालनमा रहेको छ। अस्पतालको क्षमता बढाएर ५०० शय्या पुर्याउने प्रक्रिया पनि अघि बढाइएको छ।
अस्पतालमा विशेषज्ञ चिकित्सकमार्फत ५० भन्दा बढी प्रकारका स्वास्थ्य सेवा उपलब्ध भइरहेका छन्। दैनिक ४०० देखि ५०० जनासम्म बिरामीले अस्पतालबाट उपचार सेवा लिने गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ।
रजिस्ट्रार डा. चन्दले अस्पतालको सेवा विस्तार र चिकित्सा शिक्षाको पठनपाठनलाई प्रभावकारी बनाउन आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनको काम अघि बढाइएको बताए। उनका अनुसार शैक्षिक कार्यक्रम सञ्चालनसँगै विद्यार्थीलाई व्यावहारिक अध्ययन र बिरामीको उपचारमा आधारित सिकाइको अवसर उपलब्ध गराउन सकिनेछ।
तर, चिकित्सा शिक्षा कार्यक्रमको गुणस्तर र निरन्तरताका लागि पर्याप्त विशेषज्ञ चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी तथा आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापन महत्त्वपूर्ण हुने देखिन्छ। विश्वविद्यालय प्रशासनले यसका लागि आवश्यक तयारी भइरहेको जनाएको छ।
विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन, अस्पताल व्यवस्थापन तथा पूर्वाधार विस्तारका लागि चालु र पुँजीगततर्फ गरी कुल २५३ करोड रुपैयाँ बजेट विनियोजन भएको जनाइएको छ। यद्यपि, उक्त बजेट सिनेटबाट आवश्यक प्रक्रियामा लैजान बाँकी रहेको विश्वविद्यालय प्रशासनले जनाएको छ।
गेटामा चिकित्सा शिक्षाको औपचारिक पठनपाठन सुरु हुने तयारीसँगै सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा विकासमा नयाँ अवसर थपिने अपेक्षा गरिएको छ।




