अत्तरिया- कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले आयोजना गर्ने प्रदेशस्तरीय छात्र तथा नगरस्तरीय छात्रा भलिबल प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । विद्यालयले बुधबार सूचना जारी गर्दै प्रतिकूल मौसम र तिहार पर्व नजिकिएका कारण प्रतियोगिता सारिएको जनाएको हो ।




विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार यसअघि मंसिर १४ गतेदेखि सञ्चालन गर्ने भनिएको विद्यालयस्तरीय अन्डर–१९ प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय छात्र तथा गोदावरी नगरस्तरीय छात्रा भलिबल प्रतियोगिता अब २०८३ साल पुस १७ देखि १९ गतेसम्म सञ्चालन हुनेछ ।







प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १९ वर्षमुनिका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् । सहभागी टोलीले मंसिर ३ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले विद्यार्थीबीच सहकार्य र सम्बन्ध विस्तार, शारीरिक तथा मानसिक विकास तथा खेल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
खेलकुदका माध्यमबाट विद्यार्थीलाई कुलतबाट टाढा राख्नसमेत प्रतियोगिताले सहयोग पुग्ने उनको विश्वास छ । प्रतियोगितामा सहभागी टोलीका खेलाडीहरूको बसोबास विद्यालयमै व्यवस्थापन गरिने जनाइएको छ ।




