काठमाडौं- बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको छ। नेपाल मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै सम्भावित प्रतिकूल मौसमबाट सतर्क रहन आग्रह गरेको छ।




विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ। उक्त प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुँदै अक्टोबर २८ अर्थात् कात्तिक १२ गते भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।





चक्रवातको प्रभावका कारण कात्तिक १२ गतेदेखि नेपालका विभिन्न प्रदेशमा मौसम प्रभावित हुन सक्ने विभागले जनाएको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ।


त्यसैगरी, कात्तिक १३ र १४ गते केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने सम्भावना छ। विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित हुन सक्ने देखिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभागले हिमाली क्षेत्रका जिल्लालाई बढी जोखिमयुक्त क्षेत्रका रूपमा रातो रङले संकेत गरेको जनाएको छ।
सम्भावित वर्षा, हिमपात र प्रतिकूल मौसमबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ। भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुन सक्ने जोखिम रहने भएकाले यात्रा गर्दा र दैनिक गतिविधि सञ्चालन गर्दा मौसमसम्बन्धी सूचनामा ध्यान दिन आवश्यक छ।
विभागले जारी गर्ने आधिकारिक मौसम पूर्वानुमान तथा चेतावनीलाई नियमित रूपमा हेर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।




