कञ्चनपुर- बेलडाडी गाउँपालिका–२ क्याममा अचेत अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–२ बङ्क घर भएका २७ वर्षीय महेश धामी रहेका छन्। उनलाई आइतबार राति क्याम नजिक सडक किनारमा अचेत अवस्थामा फेला पारिएको थियो।

स्थानीयले अचेत अवस्थामा युवकलाई देखेपछि तत्काल उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र बेलडाडी पुर्याएका थिए। गम्भीर अवस्थामा रहेका धामीलाई त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि सोमबार बिहान महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो।


अस्पतालमा उपचारकै क्रममा धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल उनको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमै राखिएको छ।
प्रहरीका अनुसार सुरुमा अचेत अवस्थामा भेटिएका युवकको पहिचान खुल्न सकेको थिएन। पछि उनको पहिचान महेश धामीका रूपमा खुलेको हो।
बेलडाडी प्रहरीले दिएको जानकारीअनुसार धामी रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए। उनी करिब एक साताअघि मात्रै घर फर्किएका थिए।
धामीका आफन्तहरू बेलडाडी गाउँपालिका–५ झिलमिलामा बस्दै आएका छन्। परिवारले यसअघि त्यहाँ रहेको घरजग्गा बिक्री गरेर भारतमा बस्दै आएको र अस्थायी रूपमा बङ्कमा घर बनाएर बसिरहेको बताइएको छ।
युवकको मृत्युको कारण भने पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने प्रहरीले जनाएको छ।
