कञ्चनपुर- लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतरा तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार महाकाली नदीमा पानीको सतह १ लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि शारदा ब्यारेज हुँदै हुने सवारी आवागमन रोकिएको हो। पानीको सतह खतरा तहभन्दा माथि पुगेपछि नेपाल–भारत दुवैतर्फ आवतजावत गर्ने चारपाङ्ग्रे सवारीसाधनलाई ब्यारेजमा रोक लगाइएको प्रहरीले जनाएको छ।



बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गएको हो।
वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ। मौसममा तत्काल सुधार नआएपछि सोमबार बिहानसम्म सवारीसाधन आवागमनमा रोक लगाउने निर्णय गरिएको जनाइएको छ।
प्रशासन तथा सुरक्षा निकायले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन र जोखिमपूर्ण यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
