दार्चुला- नेपाल–भारत जोड्ने महाकाली पुलको नेपालतर्फ राखिएको साइनबोर्डमा भारतीय ठेगाना उल्लेख भएपछि दार्चुलामा विरोध भएको छ।
महाकाली नगरपालिका–८, असिगडा क्षेत्रमा पर्ने पुलको बोर्डमा ‘नेपाल–भारत मैत्री सेतु’ लेखिए पनि ठेगानामा ‘काली नदी, छारछुम’ उल्लेख गरिएको छ। छारछुम भारतको धारचुला क्षेत्र हो।

सीमा विवादको संवेदनशीलताबीच नेपाली भूमिमा भारतीय ठेगाना राखिनु आपत्तिजनक भएको स्थानीय तथा राजनीतिक दलका प्रतिनिधिले बताएका छन्। उनीहरूले तत्काल बोर्ड सच्याउन माग गरेका छन्।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले भारतीय पक्षका धारचुला एसडीएम आशिषकुमार जोशीसँग कुराकानी भइसकेको र त्रुटि सच्याउने जानकारी आएको बताए।
निर्माण कम्पनीका सबइन्जिनियर हेम पाण्डेले बोर्ड छपाउने क्रममा ठेगाना उल्लेख गर्दा त्रुटि भएको स्वीकार गर्दै तत्काल सच्याउने काम अघि बढाइएको बताए।
