जिमुवाका जोशी मृत्युकाे घटनाको सत्यतथ्य छानबिन गरी दाेषि माथी कार्वाही गर्न पीडित पक्षको माग
कञ्चनपुर, ७ कार्तिक– कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १० जिमुवाका युवक दिपेन्द्र सिह जोशीको मृत्यु प्रकरणमा मृतक पक्षले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ । ३० बर्षिया दिपेन्द्र जोशीलाई दशैँको दिन पुष्कर बम, तपेन्द्र प्वाली, दिनेश जोशी समुहले बोलाएर कुटपिट गरि हत्या गरेको मृतक पक्षको भनाई छ ।


मृतकका दाजु लोकेश प्रशाद जोशीलाई भाई (दिपेन्द्र प्रशाद जोशी)लाई बोलाएर कुटपिट गरि घाईते बनाएको बताए । घाईते जोशीको धनगढीको मायामेट्रो सहितका अस्पतालमा उपचार हुन नसकेपछि भारतको रोयलल्याण्ड अस्पतालमा मृत्यु भएको थियो ।

‘दशैँका दिन कुटपिट गर्यो, ‘उनले भने, ‘हिजो भारतीय अस्पतालमा उपचारका क्रममा मृत्यु भयो, दोषि माथि कार्बाही गरिदिनुपर्यो ।’ उनले घटनाको शुरुवाती चरणदेखि सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग राखे ।
प्रहरीले जोशीको मृत्युसंगै पुष्कर बम, तपेन्द्र प्वाली सहितका युवकहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले मृतक पक्षबाट आएको कर्तव्य ज्यान अन्तरगतको जाहेरी दर्ता गरेर घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।
