दार्चुला- चीनको ताक्लाकोट जोड्ने सीमावर्ती तिङ्कर भन्ज्याङ नाका खुलेसँगै व्यास गाउँपालिका–१ का छाङरु र तिङ्करका सौका समुदायको परम्परागत व्यापारिक आवतजावत पुनः सुरु भएको छ ।



दार्चुलाको तिङ्कर हुँदै चीनतर्फको ताक्लाकोट बजारमा स्थानीय व्यापारीहरू जान थालेका छन् । नाका खुलेसँगै यस वर्ष करिब ६३ जना व्यापारी व्यापारका लागि ताक्लाकोट प्रस्थान गरेको स्थानीय व्यापारीहरूले बताएका छन् ।



कोरोना महामारीपछि बन्द हुँदै आएको यो नाका पछिल्ला वर्षहरूमा स्थानीय समन्वयमा समय–समयमा खुल्दै आएको छ । औपचारिक नाका नभए पनि यहाँका सौका समुदायले परम्परागत रूपमा ताक्लाकोट सँग व्यापार गर्दै आएका छन् ।
व्यापारीहरूका अनुसार ताक्लाकोटमा केही महिनासम्म खाद्यान्न तथा लत्ताकपडाको व्यापार गर्ने र त्यसबाट भएको आम्दानीले जीविकोपार्जन गर्ने परम्परा छ । दार्चुलाका स्थानीयले त्यहाँ पसल र होटेलसमेत सञ्चालन गर्दै आएका छन् ।
स्थानीय प्रशासनलाई समेत नाका खुल्ने जानकारी गराइएको छ । नाका सञ्चालन स्थानीय समन्वय र चीनतर्फको प्रशासनिक सहमतिअनुसार हुने गरेको बताइएको छ ।

