

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगरभित्र खोप लगाउने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि बिहीबार आयोजित एक कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।


नगरपालिकाका अनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले अनिवार्य रूपमा सबै खोप लगाइसक्नुपर्ने व्यवस्था छ। साथै, उक्त अवधिमा खोप छुटेका बालबालिकालाई १६ देखि ५९ महिनाभित्र आवश्यक खोप उपलब्ध गराउने व्यवस्था अनुसार छुटेका बालबालिकालाई समेत समेटेर पूर्ण खोप सुनिश्चितता हासिल गरिएको हो।



स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा ० देखि ५ वर्ष उमेर समूहका ४,३२१ बालबालिकामध्ये ३ जना कुनै पनि खोप नलिएका तथा ६७ जना आंशिक रूपमा मात्र खोप पाएका थिए। ती सबै बालबालिकालाई खोजी गरी आवश्यक खोप प्रदान गरिएपछि नगरपालिकाभित्रका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार राष्ट्रिय खोप तालिका बमोजिम नगरका १२ वटै वडामा खोप लगाउने उमेर समूहका बालबालिकाले खोप प्राप्त गरेको पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। स्थानीय तहहरूले यस्तो सर्वेक्षण तथा घोषणा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था रहेको पनि उनले बताए।
पूर्ण खोपको दिगोपना कायम राख्न नगरपालिकाले हरेक वर्ष चैत महिनामा घरदैलो सर्वेक्षण गर्ने, उमेर अनुसार खोप पाए–नपाएको यकिन गर्ने तथा छुटेका बालबालिकालाई वैशाख महिनामा खोप उपलब्ध गराउने कार्य गर्दै आएको जनाएको छ।
नगर स्तरीय खोप समन्वय समितिका संयोजक तथा नगरप्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, वडाध्यक्ष तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।