कञ्चनपुर- रासायनिक मलको चरम अभाव भएपछि कञ्चनपुरका किसान आन्दोलनमा उत्रिएका छन्। बर्खे धान, उखु, मकैलगायत बालीका लागि आवश्यक मल समयमै नपाएको भन्दै किसानहरूले विभिन्न पालिका र सहकारी संस्थाविरुद्ध प्रदर्शन गर्नुका साथै स्थानीय, प्रदेश र संघीय सरकारको आलोचना गरेका छन्।
भीमदत्त नगरपालिकामा किसानहरूले नगरपालिकाको मूल गेटमा धर्ना दिँदै समयमै मल उपलब्ध गराउन माग गरेका छन्। किसानहरूले सहकारीमा पटक–पटक धाउँदा पनि मल नपाएको, घण्टौँ लाइनमा बसेर पनि न्यून मात्रामा मात्रै मल वितरण गरिएको गुनासो गरेका छन्। केही स्थानमा सहकारीको लापरबाहीको विरोधमा तालाबन्दीसमेत गरिएको छ।

यता, स्थानीय तहले भने आवश्यकताअनुसार माथिबाट पर्याप्त मलको कोटा नआएकाले वितरणमा समस्या भएको जनाएको छ। भीमदत्त नगरपालिकाले वितरणमा अनियमितता वा सहकारीको बदमासी भेटिए कारबाही गरिने चेतावनी दिएको छ। किसानहरूले हरेक वर्ष दोहोरिने मल अभावको समस्या स्थायी रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्।
