धनगढी- कैलालीको धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारासहित हस्ताक्षर अभियान सुरु गरिएको छ। धनगढी उपमहानगरपालिका–५ को एक्सिस चोकमा बुधबार स्थानीयवासीले स्वतःस्फूर्त रूपमा राजतन्त्रको पक्षमा हस्ताक्षर संकलन थालेका हुन्।
अभियानको नेतृत्व अखण्ड सुदूरपश्चिमका अभियन्ता तथा नेपाली कांग्रेसका युवा नेता गोपाल देउवासहितको टोलीले गरेको जनाएको छ। अभियानका संयोजक देउवाका अनुसार यसको उद्देश्य देशमा राष्ट्रिय एकता, राजनीतिक स्थायित्व र सुशासनको आवश्यकताबारे जनमत संकलन गर्नु हो। उनका अनुसार यो अभियान कुनै व्यक्ति, राजनीतिक दल वा वर्तमान व्यवस्थाविरुद्ध नभई नागरिकको धारणा शान्तिपूर्ण रूपमा अभिव्यक्त गर्ने प्रयास हो।

आयोजकहरूले धनगढीसँगै कैलालीका अन्य स्थानमा पनि हस्ताक्षर अभियान विस्तार गर्ने तयारी गरेको बताएका छन्। उनीहरूको दाबी अनुसार अभियानप्रति स्थानीय नागरिकको उल्लेखनीय चासो देखिएको छ।
