सुर्खेत- दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनेखोलामा बुधवार बिहान करिब ८ बजे फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सुप्र ०१–००१ ख ३०७२ नम्बरको गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गाडीमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा दुई जना सकुशल रहेका छन् भने चार जना घाइते भएका छन्। घाइतेमध्ये अछामको कमलबजार नगरपालिका–६ हात्तिबाजका चक्र शाही र सुमन शाहीको पहिचान खुलेको छ भने अन्य दुई जनाको परिचय खुल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
