सुदूरपश्चिम सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक तथा सामाजिक रूपान्तरणलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। आइतबार कमलबहादुर शाह को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्दै प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो।

बैठकले प्रदेश विकास परिषद्बाट पारित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पनि अनुमोदन गर्दै कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। प्रदेश सभाको बैठकमा नजिर मियाँ ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

“समुन्नत, सुन्दर सुदूरपश्चिम” भन्ने दीर्घकालीन सोचसहित तयार गरिएको दोस्रो पञ्चवर्षीय योजनाले उत्पादन वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवा विस्तार, वातावरण संरक्षण तथा सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ।

योजनाअन्तर्गत कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई आर्थिक वृद्धिका प्रमुख आधारका रूपमा विकास गरिनेछ भने यातायात, ऊर्जा, खानेपानी तथा डिजिटल पूर्वाधार विस्तारलाई तीव्रता दिइने रणनीति तय गरिएको छ। साथै, जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई पनि महत्वपूर्ण प्राथमिकता दिइएको छ।

शिक्षा क्षेत्रलाई रूपान्तरणको आधारस्तम्भका रूपमा राख्दै गुणस्तरीय, समावेशी तथा रोजगारमुखी उच्च शिक्षाको विकास, छात्रवृत्ति विस्तार, डिजिटल शिक्षण प्रणालीको प्रवर्द्धन, अनुसन्धान तथा सीप विकास कार्यक्रमलाई विशेष महत्व दिइने उल्लेख गरिएको छ।

प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनालाई दिगो विकास, सुशासन र समावेशी आर्थिक रूपान्तरणतर्फ सुदूरपश्चिमलाई अग्रसर गराउने मार्गदर्शक दस्तावेजका रूपमा लिएको जनाएको छ। सरकारका अनुसार योजनाको प्रभावकारी कार्यान्वयनले प्रदेशको आर्थिक समृद्धि, रोजगारी वृद्धि तथा नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Loading...