साना किसान कृषि सहकारी मालाखेतीको ३०औँ वार्षिकोत्सव सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीले आफ्नो ३०औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ।

आइतबार आयोजित विशेष समारोहमा सहकारीले तीन दशकको सफल यात्रा, सदस्यहरूको योगदान तथा सामाजिक उत्तरदायित्वका गतिविधिहरूको समीक्षा गर्दै वार्षिकोत्सव मनाएको हो। संस्थाका अध्यक्ष बलबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले सहकारीले विशेषगरी महिला तथा ग्रामीण समुदायको आर्थिक, सामाजिक र पारिवारिक जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले सहकारीमार्फत आयआर्जन, स्वरोजगार तथा कृषि उत्पादन वृद्धि गर्न उल्लेखनीय योगदान पुगेको उल्लेख गरे।

“सहकारी केवल वित्तीय कारोबार गर्ने संस्था मात्र होइन, यो समुदायको समृद्धिको आधारस्तम्भ हो,” उनले भने, “साना किसान सहकारीले महिला सशक्तीकरण, कृषि आधुनिकीकरण, स्वरोजगार सिर्जना र विपन्न वर्गको जीवनस्तर उकास्न गरेको योगदान प्रशंसनीय छ।”

Dadeldhura hospital

सहकारीले विगत ३० वर्षदेखि ग्रामीण समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउँदै उनले आगामी दिनमा पनि नगरपालिकाले सहकारी क्षेत्रको विकास तथा उत्पादनमुखी कार्यक्रमलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै कृषकलाई बीउबिजन तथा मलखाद सहज रूपमा उपलब्ध गराउने विषयमा सहकारीसँग समन्वय गरी काम गर्ने बताए।

हाल संस्थामा ८७२ वटा समूह आबद्ध रहेका छन् भने ७ हजार ५७ जना सेयर सदस्यमध्ये ५ हजार ९३२ जना महिला रहेका छन्। कुल सदस्यको ८० प्रतिशतभन्दा बढी महिलाको सहभागिता रहनु संस्थाको प्रमुख विशेषता रहेको जनाइएको छ।

सहकारीले सुरक्षित आमा कार्यक्रम, ज्येष्ठ नागरिक प्रोत्साहन, सहुलियत कर्जा, ५० प्रतिशत अनुदानमा बाख्रा वितरण, बीउबिजन तथा मलखाद उपलब्ध गराउनेलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने १८ जना सेयर सदस्यलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट समूह, व्यवसायी, बचतकर्ता तथा लघुउद्यम कर्जा उपयोगकर्तालाई नगदसहित सम्मान गरिएको सहकारीले जनाएको छ।

तीन दशकको यात्रामा सदस्य केन्द्रित सेवा, महिला सशक्तीकरण र कृषि विकासलाई प्राथमिकतामा राख्दै आएको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीले आगामी दिनमा पनि समुदायको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Loading...