सडक पूर्वाधार विस्तारमा सरकारको जोड, १,००० किमि सडक कालोपत्रे गरिने

सरकारले आगामी आर्थिक वर्षमा देशभर करिब १,००० किलोमिटर सडक कालोपत्रे तथा २७५ वटा सडक पुल निर्माण गर्ने घोषणा गरेको छ। बजेट प्रस्तुत गर्दै सरकारले यातायात पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेको जनाएको हो।

सरकारले १,०२८ किलोमिटर लामो पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ। यसका लागि रु. ३७ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको छ। चालु वर्षमै कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति सम्पन्न गरिने बताइएको छ।

Navadurga sun

त्यसैगरी, काठमाडौं–मधेस द्रुतमार्ग अन्तर्गत आगामी वर्ष ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिनेछ। यस परियोजनाका लागि रु. १७ अर्ब ६४ करोड बजेट छुट्याइएको छ।

हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस अन्तर्गत घना बस्ती भएका क्षेत्रमा सडक चौडा गरिनुका साथै ८ वटा पुल निर्माण गरिनेछ। यसका लागि रु. ४ अर्ब ६५ करोड विनियोजन गरिएको छ।

यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण पनि आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। ६५ किलोमिटर सडक स्तरोन्नति तथा ५ वटा पुल निर्माणका लागि रु. २ अर्ब १६ करोड बजेट छुट्याइएको छ।

सरकारले सुर्खेत–जुम्ला–गमगढी सडक स्तरोन्नतिका लागि रु. १ अर्ब तथा मदन भण्डारी राजमार्ग अन्तर्गत २५ किलोमिटर सडक कालोपत्रे र पुल निर्माणका लागि रु. १ अर्ब ४६ करोड विनियोजन गरेको छ।

सरकारले यी कार्यक्रममार्फत देशको सडक सञ्जाललाई आधुनिक, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...