

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि आज बजेट प्रस्तुत गर्दैछ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।


निर्माणाधीन नयाँ संसद भवनको हलबाट बजेट प्रस्तुत गर्ने तयारी भए पनि निर्माण कार्य सम्पन्न नभएकाले यसअघिकै संसद भवनबाट बजेट भाषण गरिने भएको छ ।



राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बहुमत सरकारको पहिलो बजेट भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ । बजेटलाई अन्तिम रूप दिन अर्थमन्त्री वाग्ले बजेट प्रस्तुतिको अघिल्लो रात अबेरसम्म अर्थ मन्त्रालयमै व्यस्त रहेका थिए ।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार आगामी बजेटमा न्यून तथा मध्यम आय भएका नागरिकको आय वृद्धि, उपभोग क्षमता विस्तार, करको बोझ सीमित गर्ने तथा साना लगानीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
सरकारले आर्थिक गतिविधि बढाउने, बचत र उपभोगलाई सन्तुलित रूपमा प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जनामा योगदान पुग्ने कार्यक्रम समेट्ने अपेक्षा गरिएको छ। बजेट सार्वजनिक भएपछि कर, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा गरिएका नयाँ व्यवस्था तथा कार्यक्रमबारे स्पष्ट हुनेछ।