

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका भित्रका शैक्षिक संस्थाहरूको कक्षा ८ र १० को शैक्षिक सत्र २०८०, २०८१ र २०८२ को नतिजाको तुलनात्मक समीक्षा गरिएको छ । नतिजा विश्लेषण तथा सुधारसम्बन्धी आयोजित गोष्ठी कार्यक्रममा सामुदायिक विद्यालयहरूको समग्र शैक्षिक प्रदर्शन, कमजोरीका क्षेत्र तथा आगामी सुधारका उपायबारे विस्तृत छलफल गरिएको हो ।


कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्ट, विभिन्न वडाका वडाअध्यक्षहरू, शिक्षा शाखा प्रमुख प्रयागराज जोशी, शिक्षा विद तथा शिक्षा शाखा समिति सदस्य डा. डम्बर बहादुर पाल तथा नगरपालिकाभित्रका सम्पूर्ण प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।


गोष्ठीमा सहभागीहरूले विगत तीन वर्षको नतिजा विश्लेषण गर्दै विशेषगरी गणित, विज्ञान र अङ्ग्रेजी विषयमा विद्यार्थीहरूको कमजोर प्रदर्शनलाई प्रमुख चुनौतीका रूपमा औंल्याएका छन् ।
नतिजा सुधारका लागि शिक्षक तालिमलाई प्रभावकारी बनाउने, नियमित अनुगमन प्रणाली सुदृढ गर्ने, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा (Remedial Class) सञ्चालन गर्ने तथा नियमित मोक टेस्ट र प्रश्न बैंक प्रणाली लागू गर्ने सुझाव प्रस्तुत गरिएको छ ।

त्यसैगरी विद्यालयस्तरमा अभिभावकको सक्रिय सहभागिता बढाउने, विद्यार्थी परामर्श सेवा विस्तार गर्ने तथा प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकता दिने विषयमा पनि जोड दिइएको छ।
नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सुधार योजनालाई कार्यान्वयन गर्दै सामुदायिक विद्यालयको नतिजा सुधार्ने लक्ष्य लिएको जनाएको छ ।
नगर प्रमुख बिरेन्द्र भट्ट ले विगत तीन वर्षको नतिजा अध्ययन गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अपेक्षित स्तरमा पुग्न नसकेको बताए । “अब केवल समीक्षा गरेर होइन, कार्यान्वयनमै केन्द्रित भएर सुधार गर्नुपर्छ,” उनले भने ।
उनले शिक्षक तालिमलाई अझ प्रभावकारी बनाउने, नियमित अनुगमन प्रणाली कडाइका साथ लागू गर्ने तथा कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालनलाई अनिवार्य बनाइने बताए । साथै अभिभावकको सक्रिय सहभागिता बिना गुणस्तरीय शिक्षा सम्भव नहुने भएकाले विद्यालय–अभिभावक सहकार्यलाई पनि मजबुत बनाइने उनले स्पष्ट पारे ।
नगर प्रमुख भट्टले प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार गर्दै गोदावरी नगरपालिका लाई शैक्षिक गुणस्तरमा उदाहरणीय बनाउने लक्ष्य रहेको समेत बताए ।