

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ ।


महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्ला, विशेषगरी कैलाली र कञ्चनपुरमा तातो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ ।
आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।