एन्जल चौधरी बनिन् ‘एरिष्टो एसइई आइडल–५’ विजेता

Dadeldhura hospital

धनगढी- धनगढीमा आयोजित ‘एरिष्टो एसइई आइडल–५’ को भव्य फाइनलमा डिस्कभरी सेकेन्डरी स्कुलकी प्रतिभाशाली विद्यार्थी एन्जल चौधरी विजेता घोषित भएकी छन्। एरिष्टो इङ्गलिश बोर्डिङ स्कुलको मुख्य प्रायोजन तथा प्रभात मिडियाको आयोजनामा सम्पन्न प्रतियोगितामा गेटास्थित सरस्वती नमुना माध्यमिक विद्यालयका प्रविन बोहरा उपविजेता बने।

विजेता चौधरीले ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरिन् भने उपविजेता बोहराले नगद ३० हजार रुपैयाँ हात पारे। साथै दुवैले एरिष्टो इङ्गलिश बोर्डिङ स्कुलमा कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति समेत प्राप्त गरेका छन्।

प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै वक्ताहरूले यस्ता प्रतियोगिताले विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्दै उनीहरूलाई राष्ट्रियस्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

फाइनल कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। विज्ञान नवप्रवर्तन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै प्रकाश गैरे, कन्टेन्ट क्रियसनमार्फत सामाजिक विषयवस्तु उठान गरेको भन्दै अभिषेक सिंह तथा शिक्षा क्षेत्रमा सफल महिला नेतृत्व प्रस्तुत गरेको भन्दै शान्ती अधिकारी क्षेत्रीलाई सम्मान गरिएको हो।

यसैगरी, एसइई परीक्षामा ४ जीपीए ल्याउन सफल ऐश्वर्य विद्या निकेतनका दिक्षान्त भट्टराई, डिस्कभरी ई.बो. स्कुलका अनुपराज गिरी तथा फारवेष्ट माध्यमिक विद्यालयका प्रज्वल भट्टलाई पनि सम्मान गरिएको थियो।

प्रतियोगिताको पाँचौँ संस्करण २०८२ असोजदेखि सुरु भएको थियो। फाइनल चरणमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट छनोट भएका २० जना विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ।

सुदूरपश्चिमका गाउँ–कुनाकन्दरामा रहेका विद्यार्थीभित्र लुकेका सांगीतिक प्रतिभा खोजी तथा प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको एसइई आइडलले विद्यार्थीको कला, क्षमता र सिर्जनशीलतालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य लिएको प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले बताएका छन्।

Loading...