विपन्न समुदायका विद्यार्थीलाई कृष्णपुर नगरपालिकाको छात्रवृत्ति

अत्तरिया- कृष्णपुर नगरपालिका ले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले यस वर्षदेखि ‘लवरु राना थारु उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सञ्चालनमा ल्याएको छ।

नगरपालिकाले सामाजिक न्याय, समावेशी शिक्षा तथा पछाडि पारिएका समुदायको शैक्षिक पहुँच विस्तार गर्ने लक्ष्यसहित कार्यक्रम सुरु गरेको जनाएको छ। शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पालिका क्षेत्रभित्र सञ्चालनमा रहेका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ।

Navadurga sun
Godawari sandesh

कार्यक्रम विशेषगरी अपाङ्गता भएका, दलित, जनजाति, मुक्त कमलहरी तथा नेपाल सरकारद्वारा अतिसीमान्तकृत र लोपोन्मुख घोषणा गरिएका समुदायका विद्यार्थीलाई लक्षित गरिएको छ। साथै राजी, माझी, सातार, सन्थाल, थामी, बादी, मुक्तकमैया, हलिया, चरुवा र राउटे समुदायका विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ।

Dadeldhura hospital

कार्यक्रमको नाम तत्कालीन पञ्चायती व्यवस्थामा राना थारु समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति लवरु राना थारु को सम्मानमा राखिएको हो। उनलाई यस क्षेत्रका समाज सुधारक तथा समुदायका अगुवाका रूपमा चिनिने गरिन्थ्यो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा का अनुसार छात्रवृत्ति पाउन विद्यार्थी पालिका क्षेत्रभित्रका क्याम्पसमा नियमित अध्ययनरत हुनुपर्ने, अन्य छात्रवृत्ति लिइरहेको भए खुलाउनुपर्ने तथा सम्बन्धित क्याम्पसको सिफारिस पत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

विद्यार्थीबाट आवेदन सङ्कलन भएपछि विनियोजित बजेटबाट दामासाहीका रूपमा छात्रवृत्ति रकम वितरण गरिने जनाइएको छ। नगरप्रमुख हेमराज ओझा ले छनोट प्रक्रिया पारदर्शी, निष्पक्ष र पहुँचभन्दा आवश्यकतामा आधारित हुने बताएका छन्।

उनले आर्थिक रूपमा कमजोर तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका विद्यार्थीलाई शिक्षामार्फत सशक्त बनाउने र उच्च शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताए।

Loading...