काठमाडौंसहित मध्य र पूर्वी नेपालमा वर्षा, पश्चिम तराईमा अत्यधिक गर्मी

काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी नेपालका विभिन्न क्षेत्रमा गएरातिदेखि वर्षा भइरहेको छ । मौसमविदका अनुसार आज दिनभर पानी पर्ने र रोकिने क्रम जारी रहने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जिव अधिकारीका अनुसार कोशीदेखि गण्डकी प्रदेशसम्म वर्षा भइरहेको छ । पूर्वी क्षेत्रमा भारत नजिक बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ भने काठमाडौं उपत्यका, नुवाकोट र सिन्धुपाल्चोक आसपासमा स्थानीय वायुका कारण पानी पार्ने बादल सक्रिय भएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गत २४ घण्टामा सिन्धुपाल्चोकको गोब्रे केन्द्रमा सबैभन्दा धेरै ८१ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसमविदका अनुसार काठमाडौं आसपासका बादल पूर्वतिर सरिरहेकाले केही समयपछि वर्षा रोकिने सम्भावना भए पनि अपराह्न फेरि पानी पर्न सक्छ।

आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यता पश्चिम नेपालमा भने पानी नपरेकाले अत्यधिक गर्मी बढेको छ । दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चल्न सक्ने चेतावनी समेत दिइएको छ ।

मौसमविदहरूले अत्यधिक गर्मीबाट बच्न सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

Loading...