मालाखेतीका डीएसपी रणबहादुर चन्द ‘पुलिस अफ द मन्थ’ घोषित

अत्तरिया- जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका तत्कालीन प्रमुख डीएसपी रणबहादुर चन्दलाई वैशाख महिनाको उत्कृष्ट प्रहरी अर्थात् ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ ।

अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम तथा कमाण्ड परिचालनमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत डीएसपी चन्दलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यालय प्रमुख एसपी नरेन्द्र चन्दले प्रशंसा–पत्रसहित सम्मान प्रदान गर्दै आगामी दिनमा पनि प्रभावकारी कार्यसम्पादनको अपेक्षा व्यक्त गरेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

डीएसपी चन्दको नेतृत्वमा मालाखेती क्षेत्रमा सञ्चालन गरिएको तस्करी नियन्त्रण अभियानअन्तर्गत ७ लाख ८६ हजार ७६० रुपैयाँ बराबरका अवैध भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी लागूऔषध नियन्त्रण अभियानमा १३ ग्राम ५४० मिलिग्राम खैरो हिरोइनसहित ११ जना पक्राउ परेका थिए । प्रहरीले १ थान अवैध भरुवा बन्दुकसहित २ जनालाई नियन्त्रणमा लिनुका साथै विभिन्न कसुरमा फरार रहेका ३ जना प्रतिवादीलाई समेत पक्राउ गरेको जनाएको छ ।

अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत १२ हजार ४ सय लिटर तयारी घरेलु मदिरा तथा ६ हजार ७ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको थियो ।

शान्त, सुरक्षित र अपराधमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रहरी प्रशासनले डीएसपी चन्दलाई उक्त सम्मान प्रदान गरेको जनाएको छ । हाल डीएसपी रणबहादुर चन्द मालाखेतीबाट डोटी सरुवा भइसकेका छन् ।

Loading...