

बाजुरा- बाजुरा जिल्ला को हिमाली गाउँपालिका–३ मा प्रहरी चौकी निर्माणको विषयलाई लिएर तनाव उत्पन्न हुँदा वडा सदस्यसहित चार जना घाइते भएका छन्।



प्रहरीका अनुसार खार्पुनाथ गाउँपालिका–२ थलीबाट आएका करिब ३०० जनाको समूहले कुटपिट गर्दा वडा सदस्य पेमा गारा गुरुङ, उनकी पत्नी लक्ष्मी गुरुङ, मिनु कुँवर र नरबहादुर गुरुङ घाइते भएका हुन्।


घाइतेहरूको बुधबार दिउँसो सिम्रिक एयरको हेलिकोप्टरमार्फत दुलिङ क्षेत्रबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनीहरूलाई प्रारम्भिक उपचारका लागि सुर्खेत पठाइएको छ भने थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

